Wednesday, 14 December 2011

हामी जित्दा जित्दै हार्‍यौँ : कप्तान सागर थापा


हामी जित्दा जित्दै हार्‍यौँ : सागर थापा (कप्तान, नेपाली राष्ट्रिय फुटबल टोली)
हामी जित्दा जित्दै हार्‍यौँ : सागर थापा (कप्तान, नेपाली राष्ट्रिय फुटबल टोली)
सागर थापा – नेपाली  राष्ट्रिय फुटबल टिमका कप्तान । भर्खरै भारतमा सकिएको साफ च्याम्पियनसिप प्रतियोगितामा सागरले बङ्गलादेश बिरुद्धको खेलमा गरेको गोल विश्वको पाँचौ नम्बरमा गनिएको छ । त्यही गोलका कारण थप चर्चामा आएका थापाको कप्तानीमा रहेको नेपाली फुटबल टोली सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भयो । फेरी एकपटक स्ट्राइकर नचलेपछि सेमिफाइनलबाटै बाहिरिए पनि नेपालको खेल उत्कृष्ट थियो । साफ च्याम्पियनसिपकै सेरोफेरोमा उज्यालो अनलाइनका लागि सूर्यकुमार क्षेत्रीले कप्तान सागर थापासँग गरेको कुराकानी । तस्बीरः दीपेन्द्र कुँवर
सागर जी साफ च्याम्पियनसिपमा नेपाल के मा चुक्यो भन्ने लाग्छ ? 
–यसपटक हामी जित्दा जित्दै हार्यौँ । हामीले अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरको गेम खेल्दा पनि हार्न पुग्यौँ । हामी स्कोरिङ पावरमा चुक्यौँ । हामी राम्रो खेल्यौँ तर यस पटकको सपना अपूरो भयो । 
 
सधै अन्तिममा आएर चुक्ने घटना फेरी दोहोरियो हैन ? 
– हो । जसरी हामीले माथिको टिमसँग खेल्यौँ त्यो अनुसार हामी मजबुत थियौँ । हामीले मैत्रीपूर्ण खेल पनि यही खेलका लागि खेलेर आएका थियौँ । सबै कुरामा पर्फेक्ट हुँदा हुँदै पनि हामी एउटा गल्तीका कारण चुक्यौँ ।
 
कस्तो गल्ती हो त्यो ?
–अहिलेको फुटबलमा स्टाइकरले नै गोल हान्नु पर्छ भन्ने छैन । स्ट्राइकरले पनि कोशिस गरेकै हुन् । हामी सबैको मिस्टेक छ । गोल हुन नसक्दा हार बेहोर्नु पर्‍यो । हामीले स्कोर जोड्न सकेनौँ ।
 
तर यो प्रतियोगितामा गोल मिड फिल्डर र डिफेन्सले मात्रै गरे, किन त्यसो भयो होला ? 
–यसभन्दा पहिले स्ट्राइकरले नै गोल गरेर हामीले जितेका छौँ । फुटबलमा गोल हुन सजिलो पनि छ, गाह्रो पनि छ । हामीले गोल गर्न नसकेको कारण एउटै छ जस्तो लाग्छ । हाम्रो क्रसमा मात्रै ध्यान गए जस्तो लाग्यो । थु्र बल, वालपास निकाल्न सकेनौँ । मिडफिल्डमा ध्यान दिन सकेनौँ । हाम्रो कोचको रणनीति पनि खाली क्रसमा मात्रै भएकाले पनि हामीलाई समस्या पर्‍यो । तर समग्रमा खेल राम्रो थियो ।
 
अफगानिस्तानसँगको खेलमा नेपालले सामान्य अवस्थामा गोल खायो, अनि तपाईँहरु आक्रमक खेल्नुभयो किन ?
– कस्तो हुन्छ भने त्यस्तो अवस्थामा अलि अघि बढेर खेल्नुपर्छ । गोल खाइसकेपछि अर्को टिम दबाबमा स्वाभावैले पर्छ । आक्रामक खेल्नु स्वाभाविक हो । अर्को टिमलाई दबाबमा राखेर हामीले फाइदा उठाउन सक्नु पर्थ्यो तर सकेनौँ । तर पेनाल्टीमा हामी पुगेको भए हामीले जित्ने निक्कै चान्स थियो ।
 
विश्वमा पाँचौ नम्बरमा गनिने गोल गर्नुभयो । अहिले निक्कै चर्चामा छ तपाईको त्यो गोल । कस्तो अनुभव भएको छ ? 
–अहिलेसम्म मैले गोल गर्दा यति राम्रो हानेको छैन । जिन्दगीमा अन्तर्राष्ट्रिय गोल गरेको थिइन । अहिलेको गोल उत्कृष्ट रह्यो । मेरो जिन्दगीको सवैभन्दा ठूलो एचिभमेन्ट हो । यस्तो गोल हतपत्ति हुँदा पनि हुँदैन । त्यो क्षण फेरी फर्केर आउला जस्तो लाग्दैन । खेलको अन्तिम केही सेकेन्डमा भएको गोललाई समयले पनि सुनमा सुगन्ध थप्यो ।
 
अब एएफसी च्यालेञ्ज कफ पनि आउँदै छ, के फरक देख्न पाइएला ? 
–अहिले साफमा हामी जसरी चुक्यौँ, त्यतिवेला चुक्ने छैनौँ । पक्कै पनि फरक पाउनुहुनेछ । खेल्ने शैली पनि केही परिवर्तन गर्नुपर्ने छ । एक दुईवटा रणनीतिमा हामी कमजोर छौँ, त्यसलाई सुधार गर्नुपर्ने छ र गर्नेछौँ । स्कोरिङ पावरलाई बढाउनुपर्ने छ । टिमले नैँ निर्वाह गर्नुपर्ने भूमिकालाई सुधार गर्नुपर्ने छ । काउन्टर एट्याकहरुमा हामी चुकेका छौँ । उत्तर कोरियासित पनि हामीले यस्तै कारणले गोल खायौँ । अफगानिस्तानसँग पनि हामीले यस्तै कारण भोग्नुपर्‍यो । अहिले राष्ट्रिय टिम एकदम राम्रो छ । 
 
अन्त्यमा, खेल र खेलाडिका समस्या के के देख्नु भा’छ ?
–नेपालको खेलकूद त अहिले डामाडोल छ । खेलाडीले देशको लागि पदक ल्याउन खोज्छ तर लागानी छैन । वातावरण समेत राम्रो छैन । हामीलाई भविष्यको चिन्ता छ । साफ जितेको भए, भविष्यको केहि बाटो देखिएको थियो, तर त्यो भएन ।
                                                                                                                  interview from unn

No comments:

Post a Comment

comment here