मार्क जुकेरबर्ग स्कुले जीवन देखि नै कम्प्युटर र कम्प्युटर प्रोग्रामिङमा निकै रुचि राख्थे । उनका बाबुले उनलाई स्कुल पढ्दा देखि नै विभिन्न कम्प्युटर प्रोग्रामिङहरु सिकाउन थालेका थिए । पछि घरमै एक जना शिक्षक ल्याएर उनलाई तालिम दिन थालियो ।
जुकेरबर्गले हाई स्कुल पढ्दा नै स्थानीय मर्सि कलेजमा कम्प्युटर प्रोग्रामिङ सिक्न थालेका थिए । जुकेरबर्गले सबैभन्दा पहिला बनाएको कम्प्युटर प्रोग्राम ‘जुकनेट’ थियो, जसबाट नजिकै रहेका दुईवटा कम्प्युटरलाई जोड्न वा सामान्य डाटा सेयर गर्न सकिन्थ्यो । यो सफट्वेयरको नाम उनले आफ्नै थरबाट राखेका थिए ।
स्कुल पढ्दा साथीहरुसँग मिलेर उनले एउटा म्युजिक प्लेयर समेत बनाए । माइक्रोसफ्ट र एओएलले उनको सिनाप्स नामको त्यो प्लेयर किन्न र जुकेरबर्गलाई आफ्नो कम्पनीमा आवद्ध गराउन निकै कोशिष गरे तर उनले त्यो प्रस्ताव अस्वीकार गरे ।
मार्क जुकेरबर्ग भर्खर २८ वर्षका लाग्दैछन् । तर उनले छोटो समयमा प्राप्त गरेको सफलता हतपत पत्याउन गाह्रो पर्छ ।
त्यतिबेला उनी हर्वाड विश्वविद्यालयमा मनोविज्ञानका विद्यार्थी थिए जब उनले फेसबुकको जन्म दिए । सन् २००४ मा ‘द फेसबुक’ नाम दिएर उनले सुरु गरेको समाजिक सञ्जाल नै पछि फेसबुक भयो र विश्व मै चर्चित पनि । सुरु गरेको २४ घण्टामा हर्वाडका १२ सय विद्यार्थीलाई कनेक्ट गरेर सुरु गरिएको फेसबुकमा अहिले ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।
‘समयक्रमसँगै यसमा धेरै परिवर्तन आएका छन्’, मार्कले आफ्नो ब्लगमा लेखेका छन्, ‘र त्यो क्रम अझै रोकिएको छैन ।’ ७० भन्दा धेरै भाषा, ७० भन्दा धेरै एप्लिकेसन, वार्षिक २००० मिलियन डलर भन्दा बढीको कमाई, यी फेसबुकका प्रगति देखाउने केही उदाहरण मात्र हुन् ।
फेसबुकलाई मार्क एक्लैले यहाँसम्म ल्याएका भने होइनन् । यसका लागि उनका धेरै सहयोगीले आफ्नो श्रम र बुद्धि लगाएका छन् । फेसबुकको क्यालिफोर्नियास्थित मुख्यालयमा अहिले ३ हजार कर्मचारी कार्यरत छन् ।
Collected from net source
No comments:
Post a Comment
comment here