धौलागिरी अञ्चलमा नेपाल टेलिकमले ‘थ्रिजी’ सेवा सुरु गरेको छ । टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो ।
सेवाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बिहीबार उद्घाटन गरे । धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ‘थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए ।
सोह्र स्थानमा रहेको पुरानो प्रविधिको ‘थ्रिजी’लाई स्तरोन्नति र थप पाँच स्थानमा नयाँ ‘थ्रिजी–बिटिएस’ जडान गरिएको हो । अब इन्टरनेट प्रयोगकर्ताले विगतको तुलनामा बढी क्षमतायुक्त र तीव्रगतिको ‘थ्रिजी’ सेवा उपभोग गर्न पाउनेछन् । ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो/भ्वाइस च्याट’, तीव्रगतिको इन्टरनेट ‘सर्फिङ’ लगायत सेवा प्राप्त गर्न सकिने उनको भनाइ छ ।
टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ । ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ । यस्तै, पाँच ‘जिबी’ लिँदा रु एकहजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असिमित सेवा लिन सकिनेछ ।
'आगामी आवमा धौलागिरीका थप ५० स्थानमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने लक्ष्य लिएका छौ,' क्षेत्रीय निर्देशक भारतीले भने । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ वटा ‘जिएसएम, बिटियस’लाई बढाएर आगामी आवमा १ सय २० पुर्याउने लक्ष्य छ ।
सूचना तथा सञ्चारमन्त्री राईले टेलिकमलाई नम्बर एक दुरसञ्चार कम्पनी बनाउने उद्घोष गरे । 'समस्या पहिचान गरी यसलाई सुधारेर लैजान आवश्यक छ,' उनले भने । देशभर नेपाल टेलिकमका सम्पूर्ण सेवाको पहुँच बढाउन पूर्वाधार विकासको कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
मन्त्री राईले मोबाइलमा ‘थ्रिजी’ प्रयोग गरेर सेवाको उद्घाटन गरेका थिए ।
बागलुङको बागलुङ बजार, पर्वतको कुस्मा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरुमा थ्रिजी चलाउन सकिनेछ ।
यस्तै मुस्ताङको कैसाङ क्याम्प, म्याग्दीको पुलाचौर, पर्वतको पातीचौर र दुर्लुङ्ग तथा बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गललगायतका गाविसहरुमा समेत थ्रिजी सेवा सञ्चालनमा ल्याइएको छ ।
No comments:
Post a Comment
comment here